अफगानिस्तानमा ६ म्याग्नेच्यूडको भूकम्प, २५० जनाको ज्यान गयो


काठमाडौ । अफगानिस्तानको नांगरहार प्रान्तमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २५० जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।
आइतवार राति ११:४७ बजे जलालाबाद शहरदेखि करिब १७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको ६ म्याग्नेच्यूडको भूकम्प आएको थियो। भूकम्पपछि थुप्रै पराकम्पनहरू महसुस गरिएको बताइएको छ, जसले उद्धारकार्यमा थप कठिनाइ उत्पन्न गराएको छ।
तालिबान सरकारले प्रारम्भिक रूपमा दिएको जानकारी अनुसार, भूकम्पमा परी २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। अमेरिकी सञ्चार संस्थाहरुका अनुसार, भूकम्पले मुख्यतया ग्रामीण क्षेत्रलाई असर पारेकाले क्षतिको विवरण ढिलो प्राप्त भइरहेको छ।
सडक सम्पर्क अवरुद्ध भएकाले धेरै प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न नसकेको र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको भन्दै तालिबान सरकारले आह्वान गरेको छ।
मुख्य भूकम्पपछि आएको ५ म्याग्नेच्यूडभन्दा बढीको पराकम्पनले थप क्षति पुर्याएको जनाइएको छ। त्यसपछि पनि चारवटा ४.५ म्याग्नेच्यूडभन्दा बढी तीव्रताका पराकम्पन महसुस भएका थिए।
यो भूकम्पको प्रभाव अफगानिस्तान र पाकिस्तानको पूर्वी सीमा आसपास केन्द्रित भए पनि यसको धक्का काबुल इस्लामावाद सम्म महसुस गरिएको थियो।
यसअघि सन् २०२२ मा पनि अफगानिस्तानको पूर्वी क्षेत्रमा ५.९ म्याग्नेच्यूडको भूकम्प जाँदा झन्डै १,००० जनाको ज्यान गएको थियो।