वीरगञ्जमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक
Prime TV News एक महिना अगाडि 
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ। निषेधाज्ञा वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा लागू हुनेछ।
प्रशासनले उक्त अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सार्वजनिक जमघट गर्न रोक लगाएको छ। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
साथै, आदेशको उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।







