तराईको पछिल्लो घटनाप्रति देउवाको चिन्ता, सामाजिक सद्भाव कायम राख्न आग्रह
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले तराईका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
हाल विदेशमा रहेका देउवाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै नेपाली समाजको पहिचान सहअस्तित्व, आपसी सद्भाव, एकता र सहकार्य भएको उल्लेख गर्दै सबै नागरिकलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
देउवाले पछिल्ला घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले तराईमा थप हिंसा भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलसँग समन्वय र सहकार्य गर्दै तत्काल आवश्यक तथा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। साथै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकार जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।







