कप्तानगञ्ज गोलीकाण्ड : सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको घटनामा सरकार र पीडित पक्षबीच ६ बुँदे सहमति भएको छ।
सहमतिसँगै मृतकहरूको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने भएको छ। गएराति गृहमन्त्री सुधन गुरुङ र प्रहरीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहता तथा जयप्रकाश मेहताका अभिभावकबीच भएको सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका छन्।
सम्झौतामा ओमप्रकाशका बुबा कृष्णदेव मेहता र जयप्रकाशका बुबा नरेश मेहताको हस्ताक्षर रहेको छ। साउन १० गते भएको घटनामा प्रहरीको गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो।
घटनापछि स्थानीयस्तरमा विरोध प्रदर्शन चर्किएपछि सरकार र पीडित पक्षबीच वार्ता भएको हो। सहमतिअनुसार नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनेछ।
यस्तै, देवानगञ्ज गाउँपालिका–३ मा रहेको मदरसाको कानुनी हैसियतबारे आवश्यक छानबिन सुरु गरिने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिस कानुनअनुसार कार्यान्वयन गर्ने सहमति भएको छ।
साथै, मृतकद्वयको सम्झनामा स्थानीय सरकारको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषयमा पनि सहमति भएको छ।








