सप्तरीको राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा व्यवस्था कडा

User Image Prime TV News एक दिन अगाडि
Image of सप्तरीको राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा व्यवस्था कडा

राजविराज । सप्तरीको राजविराज क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

यसअघि बिहीबार राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा पनि कर्फ्यु लागू गरिएको थियो। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राजविराज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएका छन्।

प्रशासनका अनुसार शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु लागू गरिएको हो। प्रशासनले सार्वजनिक गरेको आदेशअनुसार कर्फ्यु क्षेत्रको पूर्वी सीमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म तोकिएको छ।

कर्फ्यु आदेशको उल्लङ्घन गरी कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। साथै सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्दै शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ।

यसअघि बोदेबरसाईन नगरपालिकामा बिहीबार रातिदेखि नै अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ। कर्फ्यु आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको प्रशासनले जनाएको छ।

सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपपछि उत्पन्न तनावको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा देखिन थालेको छ। सोही घटनाको विरोधमा बिहीबार सप्तरीमा प्रदर्शन भएको थियो भने त्यसपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।