धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन्।
जारी सन्देशमा प्रहरी प्रमुख कार्कीले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताले भरिएको मुलुक भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको उल्लेख गरेका छन्। उनले विविधतामा एकता नै नेपालको पहिचान, गौरव र सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।
‘धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताबीच पनि हामी आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ सँगै बाँच्दै आएका छौँ। विविधतामा एकता नै हाम्रो पहिचान, शान र शक्ति हो,’ सन्देशमा उल्लेख छ।
महानिरीक्षक कार्कीले धर्म, संस्कार र संस्कृति फरक भए पनि सबै नेपालीको साझा पहिचान र राष्ट्रिय भावना एउटै भएकाले एकअर्काको आस्था, संस्कार र संस्कृतिको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधि गर्ने कार्यले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने भन्दै त्यस्ता गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका छन्।
पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा असर पुग्ने तथा त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएको उल्लेख गर्दै उनले त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। संवेदनशील परिस्थितिमा अफवाह र घृणाभन्दा विवेक, संयम र सद्भावलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।
प्रहरी प्रमुख कार्कीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सबै नागरिकलाई जिम्मेवार, सहिष्णु र संयमित बन्न अपिल गरेका छन्।







