फिफाको निजी लगानी योजनाविरुद्ध यूईएफएको कडा अडान, विश्वकप बहिष्कार गर्ने निर्णय

User Image Prime TV News एक दिन अगाडि
Image of फिफाको निजी लगानी योजनाविरुद्ध यूईएफएको कडा अडान, विश्वकप बहिष्कार गर्ने निर्णय

काठमाडौ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले फिफाले आफ्ना प्रतियोगिताको व्यावसायिक स्वामित्वको केही हिस्सा निजी लगानीकर्तालाई बेच्ने योजना अघि बढाए विश्वकपसहित सबै फिफा प्रतियोगिता बहिष्कार गर्ने निर्णय गरेको छ।

फिफाले विश्वकप लगायत आफ्ना प्रमुख प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गर्न स्थापना गर्न लागेको नयाँ कम्पनीमा २० प्रतिशतसम्म हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव सार्वजनिक गरेपछि यूईएफएले आकस्मिक बैठक बोलाएको थियो।

बैठकमा सहभागी ५५ सदस्य राष्ट्रका फुटबल संघहरूले उक्त योजनाको सर्वसम्मत रूपमा विरोध गर्दै बहिष्कारको पक्षमा मतदान गरेका हुन्। उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघले पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोको प्रस्तावप्रति असन्तुष्टि जनाएको छ।

पारदर्शिता र पर्याप्त परामर्शबिना योजना अघि बढाइएको भन्दै कन्काकाफले प्रस्तावलाई अस्वीकार गरेको जनाएको छ । यूईएफएले विश्वकपलाई लगानीको वस्तुका रूपमा हेर्न नसकिने स्पष्ट गर्दै प्रतियोगिताको स्वामित्व कुनै पनि अवस्थामा निजी क्षेत्रलाई हस्तान्तरण गर्न नहुने जनाएको छ।

'विश्वकप फुटबलको सबैभन्दा ठूलो सम्पदा हो। यसलाई पुस्तौँदेखि खेलाडी, राष्ट्रिय टोली र समर्थकहरूले निर्माण गरेका छन्। विश्वकप बिक्रीका लागि होइन,' यूईएफएको विज्ञप्तिमा उल्लेख छ।

यूईएफएको निर्णय पुरुष तथा महिला विश्वकपसँगै क्लब विश्वकपसहित फिफाका सबै प्रतियोगितामा लागू हुने जनाइएको छ। यस अडानको प्रभाव आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिन सक्ने विश्लेषण गरिएको छ।

फिफाको प्रस्तावले विश्व फुटबलको शासन प्रणाली र व्यावसायिक मोडेलबारे नयाँ बहस सुरु गरेको छ। विभिन्न क्षेत्रीय फुटबल महासंघहरूले पनि प्रस्तावको प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै थप छलफलको आवश्यकता औँल्याएका छन्।