गाजामा हमासको निःशस्त्रीकरणमा सहमति भएको ट्रम्पको दाबी, इजरायलको प्रतिक्रिया आउन बाँकी

User Image Prime TV News एक दिन अगाडि
Image of गाजामा हमासको निःशस्त्रीकरणमा सहमति भएको ट्रम्पको दाबी, इजरायलको प्रतिक्रिया आउन बाँकी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास र अन्य सशस्त्र समूहहरूको पूर्ण निःशस्त्रीकरणका लागि आफ्नो नेतृत्वमा रहेको ‘बोर्ड अफ पिस’मार्फत महत्वपूर्ण सहमति भएको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उक्त जानकारी सार्वजनिक गर्दै यसलाई गाजा शान्ति प्रक्रियाको ऐतिहासिक उपलब्धि बताएका छन्।

ट्रम्पका अनुसार सम्झौताअनुसार हमास तथा अन्य सशस्त्र समूहहरूको निःशस्त्रीकरण चरणबद्ध रूपमा गरिनेछ। प्रक्रिया पूरा भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुने र अन्तर्राष्ट्रिय स्थिरता बलले नयाँ प्यालेस्टिनी प्रहरीसँग मिलेर सुरक्षा व्यवस्थापन गर्नेछ।

बीबीसीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले हमासका एक वरिष्ठ अधिकारीले ‘बोर्ड अफ पिस’को प्रस्तावमा सहमति जनाएको र चाँडै आधिकारिक वक्तव्य जारी गरिने बताएका उल्लेख गरेका छन्। यद्यपि हमासले औपचारिक रूपमा सार्वजनिक पुष्टि गरिसकेको छैन भने इजरायलले पनि यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

ट्रम्पले यो सहमतिलाई आफ्नो ‘२० बुँदे गाजा शान्ति योजना’ कार्यान्वयनतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार निःशस्त्रीकरणपछि नयाँ प्यालेस्टिनी प्रशासन गठन, गाजाको पुनर्निर्माण र दीर्घकालीन शान्ति स्थापना प्रक्रियालाई अघि बढाइनेछ।

यसैबीच, इजिप्टको राजधानी कायरोमा गाजा युद्धविराम योजनाको दोस्रो चरणबारे मध्यस्थकर्ताहरूको बैठक बस्ने तयारी भइरहेको जनाइएको छ। बैठकमा निःशस्त्रीकरण, इजरायली सेनाको फिर्ती तथा गाजाको पुनर्निर्माणसम्बन्धी कार्ययोजनामाथि छलफल हुने अपेक्षा गरिएको छ।