देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

User Image Prime TV News एक दिन अगाडि
Image of देशभर मनसुन सक्रिय,    केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शुक्रबार अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेकाले वर्षाका गतिविधि सक्रिय बनेका छन्। हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि बदली छ।

मधेस प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा तथा तराईका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहिरो र डुबानको जोखिम रहने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।