भारतबाट नेपाल प्रवेशमा परिचयपत्र अनिवार्य, सर्लाहीमा सुरक्षा सतर्कता बढाइयो
Prime TV News एक दिन अगाडि 
सर्लाही । सर्लाही जिल्ला सुरक्षा समितिले भारतबाट नेपाल प्रवेश गर्ने सबै यात्रुले अब अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने निर्णय गरेको छ।
जिल्लाको शान्ति–सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक यात्रुले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र प्रस्तुत गरेपछि मात्र प्रवेश अनुमति दिइनेछ।
सुरक्षा निकायलाई सीमा क्षेत्रमा निगरानी र जाँचलाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको उनले बताए। यता, जिल्लाको सदरमुकाम मलंगवामा शुक्रबार बजार बन्द गराइएको छ। बिहीबार साँझसम्म जिल्लाको सुरक्षा अवस्था सामान्य रहे पनि शुक्रबार विभिन्न स्थानमा प्रदर्शन भएपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र अनुसरण गर्न आग्रह गरेको छ। साथै, सीमा क्षेत्रमा आवतजावत गर्ने यात्रुलाई आवश्यक परिचयपत्र साथमा राखेर सुरक्षा निकायसँग सहयोग गर्न अनुरोध गरिएको छ।







