ब्राेड पिक हिमपहिरो : सम्पर्कविहीन १० आरोहीको नाम सार्वजनिक, पाँच नेपालीसहित खोजी तीव्र

User Image Prime TV News एक दिन अगाडि
Image of ब्राेड पिक हिमपहिरो : सम्पर्कविहीन १० आरोहीको नाम सार्वजनिक, पाँच नेपालीसहित खोजी तीव्र

काठमाडौ । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्राेड पिकमा हिमपहिरो गएपछि सम्पर्कविहीन भएका १० आरोहीको नाम पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको छ।

टोलीमा पाँच नेपालीसहित ओमान, पाकिस्तान, चीन र अमेरिकाका पर्वतारोही रहेका छन्। अल्पाइन क्लबका अनुसार सम्पर्कविहीन हुनेहरूमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी मलोरी गाइस तथा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युकता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको टोली ब्राेड पिक आरोहणका क्रममा हिमपहिरोमा परेको बताइएको छ। यसअघि अल्पाइन क्लबले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा पाँच नेपाली आरोही रहेको उल्लेख गरे पनि पछिल्लो सूचीमा नेपाली आरोहीहरूको विस्तृत नामावली सार्वजनिक गरिएको हो।

घटनापछि सम्पर्कविहीन आरोहीहरूको खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाले दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरेको छ। साथै, नजिकैका के–२ र के–३ हिमालमा रहेका आरोहीहरू पनि खोजी अभियानमा सहयोग गर्न ब्राेड पिकतर्फ गइरहेका छन्।

यसैबीच, सेभेन समिट ट्रेक्सले घटनास्थलमा दुईवटा शव फेला परेको जनाएको छ। तर ती शव कसका हुन् भन्ने पहिचान अझै हुन नसकेको बताइएको छ । उद्धार तथा खोजी अभियान जारी रहेकाले थप विवरण आउन बाँकी छ।