धार्मिक सद्भाव कायम गर्न संवाद र सहकार्य आवश्यक : श्रम संस्कृति पार्टी

User Image Prime TV News एक दिन अगाडि
Image of धार्मिक सद्भाव कायम गर्न संवाद र सहकार्य आवश्यक : श्रम संस्कृति पार्टी

काठमाडौ । श्रम संस्कृति पार्टीले देशमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनाव समाधानका लागि सबै पक्षलाई संवाद, सहकार्य र आपसी सद्भाव कायम गर्न आग्रह गरेको छ।

पार्टीका अध्यक्ष हर्क साम्पाङले जारी गरेको सन्देशमा शान्ति नै सुख र समृद्धिको आधार भएको उल्लेख गर्दै एक–अर्काको धर्म, संस्कृति र आस्थाको सम्मानबाट मात्रै समाजमा दिगो शान्ति स्थापना हुन सक्ने बताएका छन्।

उनले नेपाल विभिन्न धर्म र संस्कृतिका नागरिकहरूको साझा देश भएकाले सबै नागरिकको धार्मिक स्वतन्त्रता र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्। विभिन्न धार्मिक समुदायबीच सहिष्णुता, आपसी विश्वास र सम्मान कायम रहनु सामाजिक एकताको आधार भएको उनको भनाइ छ।

श्रम संस्कृति पार्टीले सबै धर्मप्रति समान सम्मान राख्ने आफ्नो नीति दोहोर्याउँदै कुनै पनि धर्मप्रति विभेदपूर्ण दृष्टिकोण नराख्ने स्पष्ट गरेको छ। पछिल्लो समय देखिएको धार्मिक तथा साम्प्रदायिक तनाव समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला सबै पक्षले सकारात्मक सोचका साथ संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने अध्यक्ष साम्पाङले बताएका छन्।

देशमा शान्ति, सामाजिक सद्भाव र सुव्यवस्था कायम राख्न पार्टी सधैं रचनात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले कुनै पनि माध्यमबाट द्वेष फैलाउने वा परिस्थिति थप जटिल बनाउने अभिव्यक्ति तथा गतिविधिबाट सबै पक्षलाई टाढा रहन आग्रह गरेका छन्।