लुम्बिनीमा विशेष शान्ति प्रार्थना, सामाजिक सद्भाव कायम गर्न आह्वान

User Image Prime TV News एक दिन अगाडि
Image of लुम्बिनीमा विशेष शान्ति प्रार्थना, सामाजिक सद्भाव कायम गर्न आह्वान

काठमाडौ । देशमा उत्पन्न पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामनासहित बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष शान्ति प्रार्थना कार्यक्रम आयोजना गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सामाजिक सद्भावविरुद्ध भएका गतिविधिमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको छ।

शान्ति, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पूज्य गुरु तथा गुरुमाहरू, बौद्ध धर्मावलम्बी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले देशमा शीघ्र शान्ति, अमनचयन र सामाजिक एकता कायम होस् भन्ने कामनासहित दीप प्रज्वलन, पाठ–पूजा तथा सामूहिक प्रार्थना गरेका थिए। मन्त्रालयले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माणका लागि सबै नागरिकलाई संयमता अपनाउन, आपसी सम्मान बढाउन र राष्ट्रिय एकताका पक्षमा ऐक्यबद्ध हुन आह्वान गरेको छ।