मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायम, सुरक्षा व्यवस्था थप कडा
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सुनसरीको देवागञ्ज गाउँपालिका–कप्तानगञ्जमा दुई समुदायबीच सुरु भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको छ।
सुरक्षा अवस्था संवेदनशील बनेपछि सिरहा, धनुषा, पर्सा र सप्तरीमा जारी कर्फ्यु आदेश आज पनि निरन्तर रहने भएको छ। धार्मिक तथा साम्प्रदायिक तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयहरूले जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा जारी गरेको कर्फ्यु आदेशलाई यथावत् राख्ने निर्णय गरेका हुन्।
हिजो सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनापछि विभिन्न स्थानमा तोडफोड, आगजनी, लुटपाट तथा झडपका घटना भएका छन्। घटनामा हालसम्म एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार घाइतेमध्ये नेपाल प्रहरीका दुई जना डीएसपीसहित २२ जना प्रहरी कर्मचारी रहेका छन्।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई संवेदनशील क्षेत्रमा उच्च सतर्कतासाथ परिचालन गरिएको छ। सुरक्षा गस्तीसमेत बढाइएको छ। स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको जनाएको छ।
प्रशासनका अनुसार शान्ति–सुरक्षाको अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म कर्फ्यु आदेश कायम रहनेछ। प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक वा उत्तेजनात्मक सामग्री नफैलाउन तथा कुनै पनि शंकास्पद गतिविधिको जानकारी तत्काल सुरक्षा निकायलाई दिन सबै नागरिकसँग अनुरोध गरेको छ।







