कुवेतमा ड्रोन आक्रमणमा परेर नेपालीको मृत्यु भएको पुष्टि, शव नेपाल पठाउने प्रक्रिया सुरु
Prime TV News एक दिन अगाडि 
काठमाडौ । कुवेतस्थित नेपाली राजदूतावासले जुलाई ३० मा भएको ड्रोन आक्रमणमा सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको पुष्टि गरेको छ।
राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको आधिकारिक पुष्टि गरेको हो। तामाङको मृत्युबारे बिहीबार विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भए पनि राजदूतावासले औपचारिक रूपमा पुष्टि गरेको हो।
राजदूतावासका अनुसार तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको छ। यसका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य भइरहेको जनाइएको छ। यसैबीच, कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई स्थानीय सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ।
राजदूतावासले आवश्यक परेमा दूतावाससँग सम्पर्कमा रहन तथा आधिकारिक सूचनालाई मात्र आधार बनाउन पनि कुवेतस्थित नेपाली समुदायलाई अनुरोध गरेको छ।







