सामाजिक सद्भावका लागि रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशका विभिन्न स्थानमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावका बीच सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले धार्मिक अगुवासँग छलफल थालेका छन्।
शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा सभापति लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्। त्यसैगरी उनले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छुट्टाछुट्टै छलफल गरेका छन्।
छलफलका क्रममा लामिछानेले सुनसरी, सिरहालगायत देशका विभिन्न भागमा भइरहेका प्रदर्शन र तनावलाई शान्तिपूर्ण रूपमा अन्त्य गर्न धार्मिक अगुवाहरूले सामाजिक सद्भाव र संयमताको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्।
रास्वपाले विभिन्न समुदायबीच आपसी विश्वास, सहिष्णुता र संवादमार्फत सामाजिक एकता सुदृढ बनाउन सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राखेको छ।







