सामाजिक सद्भाव कायम गर्न गगन थापाको आग्रह, अफवाहमा विश्वास नगर्न निर्देशन
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सामाजिक सद्भाव खलबलिएको वर्तमान परिस्थितिमा संयम, विवेक र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
शुक्रबार मधेश र कोशी प्रदेशका स्थानीय तहका जनप्रतिनिधिसँग भर्चुअल (जुम) बैठकमार्फत छलफल गर्दै थापाले पुष्टि नभएका सूचना र अफवाहका आधारमा प्रतिक्रिया नदिन निर्देशन दिएका हुन्। उनले कुनै पनि विषयमा धारणा बनाउनु अघि तथ्य बुझ्नुपर्नेमा जोड दिँदै मिथ्या सूचना छिटो फैलिने भएकाले सबैले सचेत हुनुपर्ने बताए।
“कुनै कुरा आउँदा विवेक प्रयोग गर्नुपर्छ। बुझेर मात्रै धारणा बनाउनुपर्छ। मिथ्या सूचना छिटो फैलिन्छ, त्यसैले सचेत बन्नुपर्छ,” थापाले भने। सभापति थापाले नेपाली कांग्रेस देशको जिम्मेवार र मूल राजनीतिक शक्ति भएकाले समाजमा शान्ति, सद्भाव र स्थिरता कायम राख्ने भूमिकामा अग्रसर हुनुपर्ने उल्लेख गरे।
“कसले के भन्छ भन्नेभन्दा पनि आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो,” उनले नेता–कार्यकर्तालाई सम्बोधन गर्दै भने। उनले सबै तहका पार्टी प्रतिनिधिलाई सामाजिक सद्भाव कायम राख्न, संयमित अभिव्यक्ति दिन र स्थानीय स्तरमा संवाद तथा सहकार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन्।







