सरकारले संसद् सचिवालयमा एकै दिन दर्ता गरायो ९ विधेयक

User Image Prime TV News एक दिन अगाडि
Image of सरकारले संसद् सचिवालयमा एकै दिन दर्ता गरायो ९ विधेयक

काठमाडौ । सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ।

साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ती विधेयकहरू दर्ता भएका हुन्। दर्ता भएका विधेयकमध्ये ७ वटा प्रतिनिधिसभा र २ वटा राष्ट्रियसभामा दर्ता गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सरकारले चालु आर्थिक वर्षभित्र १६६ वटा विधेयक संसदमा पुर्‍याउने लक्ष्य राखेको छ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार ९ वटा विधेयक बिहीबार सचिवालयमा प्राप्त भएका थिए। तीमध्ये केही बिहीबार नै र केही शुक्रबार दर्ता गरिएको उनले जानकारी दिए।

प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरूमा राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३ र कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ रहेका छन्।

त्यस्तै, सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ राष्ट्रियसभामा दर्ता भएका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव दलबहादुर अधिकारीका अनुसार कानुन निर्माणलाई प्राथमिकता दिँदै संसद्लाई पर्याप्त ‘बिजनेस’ दिने रणनीतिअनुसार ती विधेयक एकैपटक दर्ता गरिएको हो।

दर्ता भएका विधेयकहरू अब बस्ने संसद् बैठकमा पेस हुनेछन्। मन्त्रालयका अनुसार विभिन्न मन्त्रालयसँगको समन्वयमा थप विधेयकहरू पनि मस्यौदा प्रक्रियामा रहेकाले आगामी दिनमा क्रमशः संसद्मा दर्ता गरिनेछ।