नेकपाको केन्द्रीय संयोजन समितिको बैठक आज, प्रदेश सत्ता समीकरणबारे छलफल हुने
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेका हुन्। नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठक दिउँसो २ बजे सुरु हुनेछ। बैठकमा पछिल्लो राजनीतिक अवस्था, तराई–मधेसमा भएका घटनाक्रम, प्रदेश सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको छ।
नेकपाले प्रदेशमा नेकपा एमालेसँग सत्ता समीकरण गर्ने विषयमा तीनबुँदे सहमति गरेको थियो। उक्त सहमतिलाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिएको छ। सहसंयोजक माधव नेपालसहित पार्टीका केही नेताहरूले एमालेसँगको सहमतिप्रति असहमति जनाउँदै आएका छन्।
आजको बैठकमा प्रदेश सत्ता समीकरणसम्बन्धी विषयले समेत प्रवेश पाउने नेताहरूले बताएका छन्। बैठकले पछिल्लो राजनीतिक परिस्थिति र पार्टीभित्र देखिएका मतभेद समाधानका लागि आवश्यक निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।







