पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रपति पौडेलद्वारा श्रद्धाञ्जली

User Image Prime TV News एक दिन अगाडि
Image of पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रपति पौडेलद्वारा श्रद्धाञ्जली

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवास पुगेर दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। शोकको यस घडीमा राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारजन तथा आफन्तमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष तथा आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरेका छन्।

उनले श्रेष्ठको राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा र सार्वजनिक जीवनमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताएका छन्। राष्ट्रपति पौडेलले श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै मुलुकले निर्भीक, सत्यको पक्षमा उभिने र निष्ठावान् लोकतन्त्रवादी नेता गुमाएको बताएका छन्।