धार्मिक अगुवाहरूको संयुक्त अपिल : सामाजिक सद्भाव कायम राख्न आग्रह
Prime TV News एक दिन अगाडि 
काठमाडौ । तराई–मधेशका विभिन्न क्षेत्रमा देखिएको धार्मिक तनावपछि धार्मिक अगुवाहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल जारी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको छलफलपछि धार्मिक अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। अपिलमा विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्धिकी, विश्व हिन्दु महासङ्घ नेपालका सचिवालय सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता नेपाली समाजको आधार रहेको उल्लेख गरिएको छ।
धार्मिक अगुवाहरूले सुनसरी, सिरहा तथा मधेश प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानूनविपरीत कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा धर्मको नाममा हिंसा फैलाउने प्रयासप्रति सचेत रहन आग्रह गर्दै नागरिकलाई संयमित हुन, उत्तेजनात्मक, घृणात्मक तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न नहुन अपिल गरिएको छ।
धार्मिक अगुवाहरूले सदियौँदेखि कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई कमजोर बनाउने गतिविधिप्रति सचेत रहन आग्रह गर्दै सबै नेपालीलाई शान्ति, सद्भाव, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन्।







