राहदानी अनियमितता मुद्दामा सिद्धार्थ थापा साधारण तारेखमा रिहा
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राहदानी अनियमितता मुद्दाको सुनुवाइका लागि आफैँ विशेष अदालतमा उपस्थित भएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन्।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले थापालाई सामान्य धरौटीसमेत नलिई साधारण तारेखमा राख्ने आदेश दिएको हो। राहदानी अनियमितता प्रकरणमा प्रहरीले गैरकानुनी लाभ–हानि अन्तर्गत थापाविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।
थापा असार २ गते राहदानी विभागका महानिर्देशक तीर्थ अर्यालसँगै पक्राउ सूचीमा परेका थिए। उनी छोरीको जन्मदिनका कारण विदेश गएको बताउँदै आएका थिए। थापा राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेन्ट हुन्।
उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य सुनीलबहादुर थापाका छोरा हुन्। ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको दुरुपयोग गरी राज्यलाई आर्थिक भार पुर्याएको आरोपपछि राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ परेका थिए। प्रतिस्पर्धात्मक टेन्डर नगरी पुरानै आपूर्तिकर्तासँग सम्झौता थप्दा राज्यलाई आर्थिक नोक्सानी भएको आरोप लगाइएको छ।
राहदानी विभागले पाँच वर्षका लागि ६४ हजार थान ई–पासपोर्ट खरिद गर्न २०८१ मंसिरमा टेन्डर आह्वान गरेको थियो। छोटो अवधि तोकेर निकालिएको उक्त टेन्डर प्रारम्भिक चरणदेखि नै विवादमा परेको थियो।







