देवानगञ्ज गोलीकाण्ड : सहमतिपछि पनि मृतक परिवारले शव बुझ्न अस्वीकार

User Image Prime TV News एक दिन अगाडि
Image of देवानगञ्ज गोलीकाण्ड : सहमतिपछि पनि मृतक परिवारले शव बुझ्न अस्वीकार

सुनसरी । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न परिवार र आफन्तले अस्वीकार गरेका छन्।

सरकारका गृहमन्त्री सुधन गुरुङसँग औपचारिक सहमति भएपछि पनि मृतक परिवारले शव नबुझेका हुन्। शुक्रबार अपराह्न शव बुझ्ने, पोस्टमार्टमपछि सोही दिन अन्त्येष्टि गर्ने सहमति भएको थियो। सहमतिपत्रमा दुवै मृतकको अन्त्येष्टि शुक्रबार दिउँसो २ बजे गर्ने उल्लेख गरिएको थियो।

तर, परिवारका सदस्य र आफन्तले आफूहरूलाई दबाबमा सहमतिपत्रमा हस्ताक्षर गराइएको र सहमति कार्यान्वयन हुने सुनिश्चितता नभएकाले शव नबुझेको बताएका छन्। केही स्थानीयले समेत गृहमन्त्रीको दबाबमा सहमति गराइएको आरोप लगाएका छन्।

स्थानीयको विरोधपछि शव बुझ्न विराटनगर पुगेका मृतक परिवारका सदस्य तथा आफन्त पुनः देवानगञ्ज फर्किएका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझ्ने विषयमा केही समस्या देखिएको बताउँदै प्रहरीले आवश्यक समन्वय गरेर समाधानको प्रयास गरिरहेको जानकारी दिएका छन्।

गत आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर घाइते भएका जयप्रकाश मेहताको भने बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो।

दुवै मृतकको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ। सरकार र मृतक पक्षबीच बिहीबार राति सहमति भए पनि परिवारले शव बुझ्न अस्वीकार गरेपछि पोस्टमार्टम प्रक्रिया अघि बढ्न सकेको छैन।

गृहमन्त्री गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सातबुँदे सहमतिपत्र तयार भएको थियो। उक्त सहमतिपत्रमा गृहमन्त्री गुरुङले हस्ताक्षर गरेका थिए। त्यसपछि उनी आफैँ मृतक परिवारको घर पुगेर सहमतिपत्रमा हस्ताक्षर गराएका थिए।

यसैबीच, बुधबारदेखि सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ। यद्यपि, जिल्लामा लगाइएको कर्फ्यु भने अझै हटाइएको छैन।