शान्ति र नागरिक सुरक्षामा सरकार केन्द्रित छ : प्रधानमन्त्री बालेन

User Image Prime TV News एक दिन अगाडि
Image of शान्ति र नागरिक सुरक्षामा सरकार केन्द्रित छ : प्रधानमन्त्री बालेन

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थाको समाधान, नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर तथा योजनाबद्ध रूपमा लागिपरेको बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई संयमित रहन र अफवाहमा विश्वास नगर्न आग्रह गरे।

प्रधानमन्त्री शाहले सरकारको प्राथमिकता प्रभावित नागरिकसम्म तत्काल पुग्ने, उनीहरूको सुरक्षाको प्रत्याभूति गर्ने तथा घटनाको निष्पक्ष छानबिन गर्ने रहेको बताए। शान्ति–सुरक्षा कायम राख्न र परिस्थितिलाई थप जटिल हुन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको उनको भनाइ थियो।

छलफलका क्रममा उनले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न, विश्वासको वातावरण निर्माण गर्न र राज्य तथा नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आग्रह गरे। आपत्कालीन अवस्थामा जनताको घरदैलोमा पुगेर उनीहरूको साथमा उभिनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको पनि उनले स्मरण गराए।

सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै तत्काल आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले प्रधानमन्त्रीको राष्ट्रका नाममा गरेको सम्बोधनले विशेषगरी प्रभावित क्षेत्रका नागरिकमा विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको धारणा पनि राखेका थिए।

छलफलमा स्थानीय तहमा दीर्घकालीन शान्ति र सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलसँग निरन्तर संवाद आवश्यक रहेको सुझाव दिइएको थियो। साथै, सामाजिक सञ्जालमा फैलिने भ्रम र अफवाहबाट विशेषगरी युवालाई जोगाउन जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि सांसदहरूले जोड दिएका छन्।