तराई–मधेशको तनावबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

User Image Prime TV News २३ घण्टा अगाडि
Image of तराई–मधेशको तनावबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

काठमाडौ । तराई मधेशमा उत्पन्न पछिल्लो तनावपूर्ण अवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।

सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि तराई मधेशका विभिन्न क्षेत्रमा तनाव बढ्दै गएपछि केही स्थानमा कर्फ्यु र निषेधाज्ञा जारी गरिएको छ। यही परिस्थितिलाई केन्द्रमा राखेर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा छलफल भएको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलमा सुनसरी घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई जोगाउन सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो।

छलफलका क्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान विषम परिस्थितिमा सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकसँग सहकार्य गर्दै समस्या समाधान गर्न सक्षम नेतृत्व प्रस्तुत गर्नुपर्ने धारणा राखेका थिए।

छलफलमा सामाजिक सद्भाव कायम राख्न संवाद, संयमता र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्ने तथा शान्तिपूर्ण वातावरण निर्माणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा समेत जोड दिइएको जनाइएको छ।