गोलबजार गोलीकाण्ड : सरकार र गणेश यादवका परिवारबीच सहमति
Prime TV News ९ घण्टा अगाडि 
जनकपुर। सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सातबुँदे सहमति भएको छ।
सहमतिपछि सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने भएको छ। गृहमन्त्री सुदन गुरुङ बिहीबार राति मृतकको घर औरही गाउँपालिका–२ तुलसियाही पुगेर परिवारसँग छलफल गरेका थिए। त्यसक्रममा सरकारका तर्फबाट गृहमन्त्री गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ। साथै परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिने, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा तथा बुबा–आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ।
यस्तै, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही अघि बढाउने, छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।
प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएपछि स्थानीयस्तरमा विरोध प्रदर्शन भएको थियो।







