सुनसरीमा कर्फ्यु हटाइयो, विभिन्न क्षेत्रमा निषेधाज्ञा कायम
Prime TV News ९ घण्टा अगाडि 
इनरुवा। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश आजबाट हटाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सूचना जारी गर्दै आज बिहान ८ः३० बजेदेखि साँझ ५ः०० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका हुन्।
कर्फ्यु हटाइए पनि जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
निषेधाज्ञा अनुसार तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, सभा वा प्रदर्शन गर्न पाइने छैन। प्रशासनले आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रशासनका अनुसार इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दुवैतर्फ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दुवैतर्फ २०० मिटर क्षेत्र तथा इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी गाउँपालिका, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
यसअघि जिल्लामा साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको थियो।
पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रशासनले कर्फ्यु हटाए पनि सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञालाई निरन्तरता दिएको जनाएको छ।







