व्यापक विरोधपछि फिफाले प्रतियोगिताको सेयर बिक्री गर्ने योजना फिर्ता लियो

User Image Prime TV News ९ घण्टा अगाडि
Image of व्यापक विरोधपछि फिफाले प्रतियोगिताको सेयर बिक्री गर्ने योजना फिर्ता लियो

काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रमुख प्रतियोगितामा रहेको स्वामित्वको हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने विवादास्पद योजना फिर्ता लिएको छ।

व्यापक अन्तर्राष्ट्रिय विरोधपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उक्त प्रस्ताव अघि नबढाउने घोषणा गरेका हुन्। बीबीसीका अनुसार इन्फान्टिनोले शुक्रबार जारी विज्ञप्तिमा यो योजनाले फुटबल समुदायमा विभाजन सिर्जना गरेको स्वीकार गर्दै अब प्रस्ताव कार्यान्वयन नगर्ने बताएका छन्।

‘यो परियोजनाले विभाजन सिर्जना गरेको स्पष्ट भएको छ, जुन अब यसको मूल उद्देश्यको हितमा छैन,’ उनले भने, ‘त्यसैले यो प्रस्ताव अब अगाडि बढ्ने छैन।’

फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिता सञ्चालनका लागि स्थापना गरिने नयाँ कम्पनीमा करिब २० प्रतिशत सेयर बिक्री गरेर ४.२ अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरेको थियो। तर उक्त प्रस्ताव सार्वजनिक भएलगत्तै विभिन्न फुटबल महासंघ र सरोकारवालाले त्यसको विरोध गरेका थिए।

युरोपेली फुटबल महासंघ (यूईएफए)ले प्रस्ताव फिर्ता नलिए विश्वकपसहित फिफाका सबै प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएको थियो। यूईएफएले विश्वकपलाई निजी लगानीको वस्तु बनाउन नहुने र यसको स्वामित्व फुटबल समुदायमै रहनुपर्ने अडान राखेको थियो।

यस्तै, बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले पनि फिफाको नेतृत्वको आलोचना गर्दै इन्फान्टिनोको योजनाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

चर्को विरोधपछि अन्ततः फिफाले प्रस्ताव फिर्ता लिएको घोषणा गरेसँगै विश्व फुटबलमा देखिएको विवाद तत्कालका लागि साम्य भएको छ।