ब्रड पिक हिमपहिरो : बेपत्ता अमेरिकी आरोहीको शव फेला

User Image Prime TV News ८ घण्टा अगाडि
Image of ब्रड पिक हिमपहिरो : बेपत्ता अमेरिकी आरोहीको शव फेला

काठमाडौ । पाकिस्तान–चीन सीमास्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा आएको हिमपहिरोपछि बेपत्ता भएका अमेरिकी आरोही म्यालोरी गेइसको शव फेला परेको छ।

उद्धार टोलीले नेपालका पर्वतारोही पुरबहादुर गुरुङ र ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थीको शव पनि पहिचान गरेको छ।

गिलगिट–बाल्टिस्तानको सूचना विभागका अनुसार तीनै जनाको शव हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ। त्यहाँ औपचारिक पहिचान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

यसअघि पाकिस्तानको अल्पाइन क्लबले चारवटा शव फेला परेको जानकारी दिएको थियो। पछि विवरण सच्याउँदै दुईवटा शव र एउटा मानव शरीरको अंश मात्र फेला परेको स्पष्ट पारेको थियो।

उद्धार कार्य भने अझै चुनौतीपूर्ण बनेको छ। अल्पाइन क्लबका अनुसार ड्रोनमार्फत केही थप आरोही देखिए पनि उनीहरूको अवस्था यकिन हुन सकेको छैन।

खराब मौसमका कारण उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न नसकेको र मौसम अनुकूल भएपछि खोजी अभियानलाई निरन्तरता दिइने जनाएको छ। अझै एक जना आरोही सम्पर्कविहीन रहेको क्लबले जनाएको छ।

८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार शिखरतर्फ उक्लिरहेको १० सदस्यीय अन्तर्राष्ट्रिय टोली हिमपहिरोमा परेको थियो। उक्त टोलीको नेतृत्व विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाले गरिरहेका थिए।

प्रारम्भिक चरणमा निर्मल पुर्जा र अन्य केही आरोहीको जीपीएस ट्र्याकरबाट संकेत प्राप्त भएको जनाइए पनि हेलिकप्टर घटनास्थल पुग्दा कुनै पनि आरोही भेटिएनन्।

पछि टोलीका सदस्य सोहेल साखीको जीपीएस ट्र्याकर चकनाचुर अवस्थामा फेला परेपछि पहिले प्राप्त संकेत प्राविधिक त्रुटिका कारण देखिएको हुन सक्ने अनुमान गरिएको छ।

अल्पाइन क्लबकी सञ्चार प्रमुख नाइला कियानीले २४ घण्टाभन्दा बढी समयसम्म यस्ता कठोर हिमाली परिस्थितिमा जीवित रहने सम्भावना अत्यन्त न्यून रहेको बताउँदै खोजी तथा उद्धार अभियान भने जारी रहने जानकारी दिएकी छन्।

मृतक अमेरिकी आरोही म्यालोरी गेइस अमेरिकाको टेक्सास राज्यकी ३९ वर्षीया हुन्। उनले यो अभियानलाई आफ्नो पहिलो ठूलो हिमाली आरोहणका रूपमा लिएकी थिइन्। उनी पाकिस्तानी आरोही सोहेल साखीसँग ब्रड पिक आरोहणमा सहभागी भएकी थिइन्।

मृत्यु भएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ अन्तर्राष्ट्रिय पर्वतीय मार्गदर्शक महासंघ (आईएफएमजीए)बाट प्रमाणित पर्वत मार्गदर्शक थिए। उनी विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने लक्ष्य पूरा गर्ने अन्तिम चरणमा पुगेका थिए।

ब्रड पिकलाई विश्वकै कठिन र जोखिमपूर्ण हिमालमध्ये एक मानिन्छ। सन् १९५७ मा पहिलो सफल आरोहण भएको यस हिमालमा त्यसयता सयौँ आरोही सफल भए पनि दर्जनौँले ज्यान गुमाइसकेका छन्।