देशभर मनसुन सक्रिय, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

User Image Prime TV News ८ घण्टा अगाडि
Image of देशभर मनसुन सक्रिय, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले वर्षाका गतिविधि सक्रिय रहनेछन्।

हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।