प्रधानमन्त्रीद्वारा ब्रड पिक दुर्घटनामा ज्यान गुमाएका नेपाली आरोहीप्रति श्रद्धाञ्जली
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ ।प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा ज्यान गुमाएका निर्मल पुर्जासहित नेपाली आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश जारी गर्दै बालेनले आरोहीहरूको भौतिक यात्रा अन्त्य भए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने बताएका छन्।
‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन। यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो,’ उनले लेखेका छन्।
उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने बताएका छन्।
ब्रोड पिकमा गएको हिमपहिरोमा विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जासहित अन्य नेपाली आरोहीहरूको निधन भएपछि नेपाल तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले गहिरो शोक व्यक्त गरिरहेको छ।







