कांग्रेसभित्र नयाँ बहसका लागि साउन २९ देखि राष्ट्रिय भेला, शशांक कोइरालाको घोषणा

User Image Prime TV News ४ घण्टा अगाडि
Image of कांग्रेसभित्र नयाँ बहसका लागि साउन २९ देखि राष्ट्रिय भेला, शशांक कोइरालाको घोषणा

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकको वर्तमान राजनीतिक अवस्था र पार्टीभित्र देखिएका चुनौतीबारे व्यापक छलफल गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने बताएका छन्।

शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई वैचारिक तथा सांगठनिक रूपमा नयाँ दिशा दिन ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए।

कोइरालाले विगत एक वर्षदेखि मुलुक राजनीतिक अनिश्चितता र हिंसात्मक घटनाबाट प्रभावित भएको उल्लेख गर्दै त्यसको असर नेपाली कांग्रेसमा समेत परेको बताए।

उनले २०८२ भदौ २४ गते भएको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको आक्रमण तथा पार्टी कार्यालयहरूमा भएको तोडफोडले पार्टीलाई गम्भीर क्षति पुगेको दाबी गरे।

देशको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले नागरिक स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती बढ्दै गएको टिप्पणी गरे।

साथै, सुनसरीको देवानगञ्जबाट सुरु भई मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे।

कोइरालाले पार्टीको विधानअनुसार कार्यकाल थप गर्नुपर्ने अवस्थामा विशेष महाधिवेशनको विषय उठाइएकाले आन्तरिक मतभेद बढेको र त्यसको प्रभाव निर्वाचन परिणाममा समेत परेको बताए।

उनले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबै राजनीतिक दल र नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

उनका अनुसार राष्ट्रिय भेलामा नेपाली कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारी, संघीय र प्रदेश सांसद, प्रदेश तथा जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र लोकतान्त्रिक आन्दोलनसँग आबद्ध बुद्धिजीवीहरूको सहभागिता रहनेछ।

पत्रकार सम्मेलनमा नेता डा. शेखर कोइरालाको भूमिकाबारे सोधिएको प्रश्नमा डा. शशांक कोइरालाले शेखर कोइरालाले उक्त अभियानप्रति पूर्ण समर्थन जनाएको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यबद्धता व्यक्त गरेको जानकारी दिए।

उनले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य वर्तमान समयको प्रमुख आवश्यकता भएको बताए।