हिंसाबाट सत्ता परिवर्तन गर्न सकिने सोचले लोकतन्त्रमाथि खतरा बढायो: वरिष्ठ अधिवक्ता अधिकारी

User Image Prime TV News ३ घण्टा अगाडि
Image of हिंसाबाट सत्ता परिवर्तन गर्न सकिने सोचले लोकतन्त्रमाथि खतरा बढायो: वरिष्ठ अधिवक्ता अधिकारी

काठमाडौ । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनको माध्यमबाट हुने लोकतान्त्रिक सत्ता हस्तान्तरणको सट्टा हिंसाका माध्यमबाट सत्ता परिवर्तन गर्ने प्रवृत्ति स्थापित हुन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अधिकारीले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति चिन्ता व्यक्त गर्दै विगतका हिंसात्मक घटनामा दोषीलाई कानुनी दायरामा ल्याउन नसक्दा यस्ता घटना दोहोरिने वातावरण बनेको बताए।

उनले २०८२ भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाको स्मरण गर्दै ती घटनामा संलग्नलाई जवाफदेही बनाउन नसकिएको उल्लेख गरे। त्यसकै परिणामस्वरूप अहिले फेरि उस्तै प्रकृतिका हिंसात्मक गतिविधि देखिन थालेको उनको भनाइ थियो।

अधिकारीले पछिल्लो समय धार्मिक तथा सामाजिक सद्भावमा असर पर्ने गतिविधि र निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानमाथि भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गरे।

भाटभटेनी र सीजी ग्रुपजस्ता व्यावसायिक संस्थाका संरचनामा भएको आगजनी तथा तोडफोडले लोकतान्त्रिक शासन व्यवस्था र लगानीको वातावरणमा नकारात्मक प्रभाव पार्ने उनले बताए।

लोकतन्त्रको संरक्षणका लागि कानुनी शासन र जवाफदेहितालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै अधिकारीले हिंसा र अराजकताले कुनै पनि लोकतान्त्रिक समाजलाई कमजोर बनाउने धारणा राखे।

उनले सरकार र संसद्बीचको सम्बन्धलाई पनि प्रभावकारी र जवाफदेही बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सुशासन र कानुनी शासन सुदृढ भए मात्र लोकतन्त्र थप मजबुत हुने बताए।