नागरिक समाजका १३ अगुवाको अपिल : सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षसँग आग्रह
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नागरिक समाजका १३ अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै मुलुकमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
शनिबार जारी संयुक्त वक्तव्यमा निलाम्बर आचार्य, सूर्यप्रसाद श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, महेन्द्रबहादुर पाण्डे, पिताम्बर शर्मा, सुशील प्याकुरेल, चैतन्य मिश्र, दुर्गेशमान सिंह, टंक कार्की, महेशकुमार मास्के, लीलामणि पौड्याल र विष्णुपुकार श्रेष्ठले सुनसरीको देवानगञ्जबाट सुरु भएको साम्प्रदायिक हिंसा विभिन्न जिल्लामा फैलिँदा भएको जनधनको क्षतिप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन्।
उनीहरूले हिंसात्मक घटनामा ज्यान गुमाएका सुनसरीका ओमप्रकाश मेहता, गणेश मेहता तथा सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
साथै, पीडित परिवारलाई राहत उपलब्ध गराउने र घाइतेहरूको प्रभावकारी उपचार गर्ने सरकारको प्रतिबद्धता शीघ्र कार्यान्वयन गर्न माग गरेका छन्।
विज्ञप्तिमा तराई–मधेसका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा सामाजिक सद्भावमा खलल पुगेको, शान्ति–सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको र त्यसले राष्ट्रिय एकतामाथि समेत असर पार्न सक्ने उल्लेख गरिएको छ।
नागरिक समाजका अगुवाहरूले तनाव नियन्त्रण, हिंसा रोकथाम र सामाजिक विश्वास पुनःस्थापित गर्न सरकार, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्दै ६ बुँदे अपिल सार्वजनिक गरेका छन्।
उनीहरूले संवाद, संयम, कानुनी शासन र आपसी सहिष्णुतामार्फत मात्रै वर्तमान संकटको समाधान सम्भव हुने उल्लेख गर्दै सबै पक्षलाई शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सहयोग गर्न आह्वान गरेका छन्।







