बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया, एमालेभित्र सहमति
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ। बागमती प्रदेशको नयाँ मुख्यमन्त्री चयनका लागि नेकपा एमाले भित्र देखिएको प्रतिस्पर्धा अन्ततः टुंगिएको छ।
पार्टी नेतृत्व र आकांक्षी नेताहरूबीचको छलफलपछि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।
एमालेका सांसद तथा पूर्वमन्त्री मधुसूदन पौडेलका अनुसार शुक्रबार राति पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा भएको बैठकले थपलियाको नाममा सहमति जुटाएको हो।
मुख्यमन्त्रीका अर्का आकांक्षी भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री किरण थापा मगर पनि छलफलमा सहभागी थिए।
बैठकमा एमाले सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेत, प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायत शीर्ष नेताहरूको सहभागिता रहेको थियो। छलफलपछि पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा अन्त्य गर्दै थपलियालाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिने निर्णय भएको बताइएको छ।
केन्द्रमा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएपछि मुख्यमन्त्री चयनलाई लिएर पार्टीभित्र तीव्र दौड चलेको थियो।
थपलिया र किरण थापा मगर दुवैले नेतृत्वका लागि आन्तरिक रूपमा लबिङ गरिरहेका थिए। थपलिया यसअघि आर्थिक मामिला मन्त्री तथा थापा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
नयाँ राजनीतिक समीकरणसँगै बागमती प्रदेशमा साउन २०८१ देखि कायम रहेको नेपाली कांग्रेस–एमाले गठबन्धन समाप्त भएको छ।
हाल १०४ सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपा (नेकपा) का २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।
एमाले र नेकपासँग संयुक्त रूपमा ५१ सांसद रहेकाले बहुमतका लागि अझै दुई सांसद आवश्यक पर्ने अवस्था छ। त्यसका लागि राप्रपासहित अन्य साना दलसँग सरकार गठनबारे छलफल भइरहेको एमाले सांसद मधुसूदन पौडेलले जानकारी दिएका छन्।







