कुवेतमा इरानी मिसाइल आक्रमणमा ज्यान गुमाएका नेपाली कामदारको शव स्वदेश ल्याइयो

User Image Prime TV News ८ घण्टा अगाडि
Image of कुवेतमा इरानी मिसाइल आक्रमणमा ज्यान गुमाएका नेपाली कामदारको शव स्वदेश ल्याइयो

काठमाडौ । कुवेतमा इरानी मिसाइल आक्रमणमा ज्यान गुमाएका नेपाली आप्रवासी कामदार सोमकुमार तामाङको शव आइतबार मध्यराति कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ।

तेह्रथुमका ४४ वर्षीय तामाङ सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत थिए। गत बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल प्रहार हुँदा उनको मृत्यु भएको थियो।

पश्चिम एसियामा चर्किएको द्वन्द्वका क्रममा ज्यान गुमाउने उनी दोस्रो नेपाली कामदार बनेका छन्। घटनापछि कुवेतस्थित नेपाली दूतावासले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै शव स्वदेश पठाउने व्यवस्था मिलाएको थियो।

दूतावासले शोकाकुल परिवारलाई अन्तिम संस्कारका लागि शव जिम्मा लगाउने प्रक्रिया पनि तीव्र रूपमा अघि बढाएको जनाएको छ।

पश्चिम एसियामा बढ्दो सुरक्षा चुनौतीका बीच त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षालाई लिएर चिन्ता बढिरहेको छ। यस घटनापछि प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था तथा सुरक्षा व्यवस्थाबारे सरकार र नेपाली कूटनीतिक नियोगले निगरानी जारी राखेका छन्।