सप्तरीमा चार घण्टाका लागि कर्फ्यु खुकुलो, अत्यावश्यक सामग्री खरिद गर्न प्रशासनको अनुमति

User Image Prime TV News ३ घण्टा अगाडि
Image of सप्तरीमा चार घण्टाका लागि कर्फ्यु खुकुलो, अत्यावश्यक सामग्री खरिद गर्न प्रशासनको अनुमति

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीका लागि आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु आदेश खुकुलो बनाएको छ।

प्रशासनले तोकिएको समयभित्र नागरिकलाई खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न सुविधा दिइएको जनाएको छ। साथै, कार्यालयबाट पूर्वअनुमति लिएर सद्भाव र्‍याली आयोजना गर्ने प्रयोजनका लागि पनि कर्फ्यु आदेश केही खुकुलो पारिएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तोकिएको समयपछि कर्फ्यु आदेश पूर्ण रूपमा लागू हुने भएकाले सबैलाई त्यसको पालना गर्न आग्रह गरेका छन्। उनले शान्ति–सुरक्षा कायम राख्न प्रशासनलाई सहयोग गर्न पनि सर्वसाधारणसँग अपिल गरेका छन्।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार कर्फ्यु खुकुलो पारिएको अवधिमा पनि हुलदंगा, अशान्ति फैलाउने वा अन्य उद्देश्यले एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई उच्छृङ्खल गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।

सप्तरीको बोदेबरसाइन क्षेत्रमा गत साउन १४ गते राति १० बजेदेखि र राजविराज क्षेत्रमा साउन १५ गते बिहान ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको थियो।

जिल्लाको सुरक्षा अवस्था सामान्य बनाउने प्रयास स्वरूप प्रशासनले सीमित समयका लागि कर्फ्यु खुकुलो पारेको जनाएको छ।