फिफाको निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । फिफाबाट लागेको निलम्बन सेप्टेम्बर ३० भित्र फुकुवा भए मात्र नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै फिफाको निलम्बन हटेपछि मात्र नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको हो।
निलम्बनका कारण शनिबार सम्पन्न टाइसिट ड्रमा नेपाललाई समावेश गरिएको थिएन। साफका अनुसार यदि निर्धारित समयभित्र निलम्बन फुकुवा भयो भने नेपाललाई समूह ‘ए’ वा ‘बी’ मध्ये कुनै एक समूहको अन्तिम टोलीका रूपमा समावेश गरिनेछ।
शनिबार सार्वजनिक गरिएको टाइसिटअनुसार समूह ‘ए’ मा आयोजक बंगलादेश, श्रीलंका र भुटान रहेका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान परेका छन्।
यस संस्करणको साफ च्याम्पियनसिप बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुनेछ। नेपालले प्रतियोगितामा खेल्ने वा नखेल्ने विषय भने फिफाको निलम्बन फुकुवा हुने निर्णयमा निर्भर रहनेछ।







