गोठाटारमा आगलागी हुँदा १४ पसलमा क्षति, एक जना घाइते

User Image Prime TV News २ घण्टा अगाडि
Image of गोठाटारमा आगलागी हुँदा १४ पसलमा क्षति, एक जना घाइते

काठमाडौ । काठमाडौंको गोठाटारस्थित पहेँलोपुल नजिक शनिबार राति भएको आगलागीमा विभिन्न १४ वटा पसलमा क्षति पुगेको छ।

आगलागीबाट फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो पार्ट्स, हार्डवेयर, किराना, स्टेशनरी तथा मिठाइ पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार राति करिब ९:१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा सटरमा विद्युत् सर्ट (सर्ट सर्किट) भएपछि आगलागी सुरु भएको थियो।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा ९ वटा दमकल तथा ३ वटा पानी ट्याङ्की परिचालन गरिएको थियो। करिब राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ निवासी ३७ वर्षीय नरेश थापा लडेर घाइते भएका छन्। उनको प्रारम्भिक उपचार मुलपानीस्थित नगर अस्पतालमा गरिएको थियो भने थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।