अमेरिकाले स्थायी बनायो ‘भिसा बोन्ड’ नीति, नेपाली आवेदकसँग २० हजार डलरसम्म धरौटी माग्न सकिने

User Image Prime TV News २ घण्टा अगाडि
Image of अमेरिकाले स्थायी बनायो ‘भिसा बोन्ड’ नीति, नेपाली आवेदकसँग २० हजार डलरसम्म धरौटी माग्न सकिने

काठमाडौ । अमेरिकाले व्यापार तथा पर्यटन प्रयोजनका लागि जारी हुने गैरआप्रवासी (बी–१/बी–२) भिसामा लागू गरिएको ‘भिसा बोन्ड’ कार्यक्रमलाई स्थायी बनाएको छ।

नयाँ व्यवस्थाअनुसार नेपालसहित ५० देशका निश्चित भिसा आवेदकसँग कन्सुलर अधिकारीहरूले अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी (भिसा बोन्ड) माग गर्न सक्नेछन्।  अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिस्टरमा प्रकाशित अन्तिम नियमअनुसार यो व्यवस्था अगस्ट ३ देखि लागू हुनेछ।

यो नीति मुख्य रूपमा अफ्रिकी मुलुकहरूका साथै नेपाल, बंगलादेश र भुटानका नागरिकमा लागू हुनेछ भने भारत हाल यो सूचीमा समावेश गरिएको छैन। नयाँ व्यवस्थाअनुसार भिसा जारी गर्ने वा नगर्ने निर्णयको क्रममा कन्सुलर अधिकारीहरूले आफ्नो विवेकाधिकार प्रयोग गर्दै निश्चित आवेदकसँग १० हजार वा अधिकतम २० हजार अमेरिकी डलरसम्मको धरौटी माग गर्न सक्नेछन्।

यसअघि सन् २०२५ मा सञ्चालन गरिएको परीक्षण कार्यक्रमअन्तर्गत पाँच हजार, १० हजार र १५ हजार डलरसम्मको विकल्प थियो। अब पाँच हजार डलरको विकल्प हटाइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार परीक्षण कार्यक्रमको समीक्षा गर्दा भिसाको अवधि सकिएपछि पनि अमेरिकामा बसिरहने (भिसा ओभरस्टे) घटनालाई नियन्त्रण गर्न कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई स्थायी बनाइएको हो।

भविष्यमा आवश्यकताअनुसार थप देशहरू पनि यो सूचीमा समावेश गर्न सकिने व्यवस्था गरिएको छ।  यद्यपि, अध्यागमन अधिकारसम्बन्धी पक्षधरहरूले यो नीतिले वैधानिक रूपमा अमेरिका भ्रमण गर्न चाहने सर्वसाधारणमाथि आर्थिक भार थप्ने र पर्यटन तथा व्यावसायिक यात्रालाई निरुत्साहित गर्न सक्ने टिप्पणी गरेका छन्। 

विशेषज्ञहरूका अनुसार यो धरौटी सबै नेपाली भिसा आवेदकका लागि अनिवार्य भने होइन। कन्सुलर अधिकारीले आवश्यक ठानेका निश्चित आवेदकसँग मात्र भिसा जारी गर्ने सर्तका रूपमा धरौटी माग्न सक्ने व्यवस्था गरिएको छ।