अमेरिकाले इरानमाथिको नियोजित आक्रमण रोक्यो, ट्रम्पद्धारा शान्ति सम्झौताको रूपरेखा तयार भएको दाबी

User Image Prime TV News ४ घण्टा अगाडि
Image of अमेरिकाले इरानमाथिको नियोजित आक्रमण रोक्यो, ट्रम्पद्धारा शान्ति सम्झौताको रूपरेखा तयार भएको दाबी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको नियोजित सैन्य आक्रमण तत्कालका लागि रोक्ने निर्णय गरेको घोषणा गरेका छन्।

उनले आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँग सम्भावित शान्ति सम्झौताको रूपरेखा तयार भएकाले आक्रमण स्थगित गरिएको बताएका छन्। ट्रम्पले अमेरिकासँग दोस्रो विश्वयुद्धयताकै सबैभन्दा शक्तिशाली सैन्य क्षमता रहेको उल्लेख गर्दै आवश्यक परे इरानविरुद्ध कारबाही गर्न सक्षम रहेको दाबी गरेका छन्।

तर इरान तथा मध्यपूर्वका केही देशले वार्तालाई अन्तिम रूप दिन समय मागेपछि आक्रमण नगर्ने निर्णय गरिएको उनको भनाइ छ। उनका अनुसार प्रस्तावित सम्झौतामा हर्मुज जलडमरूमध्य (Strait of Hormuz) लाई तत्काल, पूर्ण र निर्बाध रूपमा खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबाट उत्पन्न सुरक्षा जोखिम अन्त्य गर्ने विषय समावेश छ  ।

ट्रम्पले विश्व शान्ति र इरानको दीर्घकालीन स्थिरता तथा समृद्धिलाई ध्यानमा राख्दै आक्रमण रद्द गरिएको उल्लेख गरेका छन्। उनले इजरायलले पनि यो निर्णयमा समर्थन जनाएको दाबी गर्दै सबै पक्षलाई सम्झौतालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेका छन्। 

यद्यपि ट्रम्पको घोषणापछि इरानले तत्काल औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। यसबीच मध्यपूर्वको सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले वार्ता सफल हुने वा नहुने विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो कायम छ।