निर्मल पुर्जाको निधनप्रति बेलायती राजकुमार विलियमद्वारा श्रद्धाञ्जली, उनले भने ‘उहाँ साँच्चिकै अद्वितीय व्यक्ति हुनुहुन्थ्यो’

User Image Prime TV News ५ घण्टा अगाडि
Image of निर्मल पुर्जाको निधनप्रति बेलायती राजकुमार विलियमद्वारा श्रद्धाञ्जली, उनले भने ‘उहाँ साँच्चिकै अद्वितीय व्यक्ति हुनुहुन्थ्यो’

काठमाडौ । पाकिस्तानको काराकोरम हिमशृङ्खला स्थित ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको निधन भएपछि बेलायती राजपरिवारका सदस्य राजकुमार विलियमले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रिन्स अफ वेल्स राजकुमार विलियमले सामाजिक सञ्जाल एक्समार्फत श्रद्धाञ्जली व्यक्त गर्दै पूर्व ब्रिटिस विशेष सैन्य बलका सदस्यसमेत रहेका निर्मल पुर्जालाई विश्वका महान् पर्वतारोहीहरूमध्ये एक र साँचो अर्थमा अद्वितीय व्यक्तित्वको रूपमा स्मरण गरेका छन्।

उनले लेखेका छन्, “निर्मल पुर्जा र ब्रोड पिकको हिमपहिरोमा परी ज्यान गुमाउनेहरूको दुःखद निधनको खबरले म अत्यन्त दुःखी भएको छु।”

राजकुमार विलियमले पुर्जाले नेपाली पर्वतारोहीलाई विश्वमञ्चमा परिचित गराउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै ब्रिटिस सशस्त्र बलमा पनि उनले विशिष्ट सेवा गरेको बताएका छन्। उनका अनुसार, “असम्भवजस्तै देखिने लक्ष्यलाई निरन्तर पछ्याउने उहाँको साहस, विनम्रता र निस्वार्थ भावनाले उहाँलाई साँचो अर्थमा अद्वितीय बनाएको थियो। मेरो समवेदना उहाँको परिवार तथा ज्यान गुमाउने सबैका परिवारप्रति छ।”

‘निम्स’ नामले परिचित ४३ वर्षीय निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक आरोहणका लागि गएको १० सदस्यीय टोलीको नेतृत्व गरिरहेका बेला बिहीबार आएको हिमपहिरोमा परेका थिए। उनको निधनको पुष्टि उनले सह–स्थापना गरेको एलाइट एक्स्पेडिसनले गरेको हो।

कम्पनीका अनुसार हिमपहिरोमा परेका टोलीका अन्य सदस्यहरू पनि जीवित नरहेको जनाइएको छ। यसअघि अल्पाइन क्लब अफ पाकिस्तानले समेत घटनामा टोलीका कुनै सदस्य जीवित नरहेको पुष्टि गरेको थियो।

निर्मल पुर्जा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छोटो समयमै आरोहण गरेर अन्तर्राष्ट्रिय कीर्तिमान बनाएका पर्वतारोहीका रूपमा परिचित थिए। उनको निधनले नेपालको पर्वतारोहण क्षेत्र मात्र नभई विश्व पर्वतारोहण समुदायलाई गहिरो क्षति पुगेको मानिएको छ।