निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

User Image Prime TV News १२ घण्टा अगाडि
Image of निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

काठमाडौ । कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ।

अन्नपूर्ण गाउँपालिका–३, दाना निवासी पुर्जाको पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो। उक्त घटनामा उनीसहित ६ जना नेपाली पर्वतारोहीले ज्यान गुमाएका थिए।

गाउँपालिका अध्यक्ष भरतकुमार पुनद्वारा जारी विज्ञप्तिअनुसार दिवंगत पर्वतारोहीप्रति सम्मान व्यक्त गर्दै साउन १८ गते गाउँपालिका मातहतका सबै कार्यालय तथा शैक्षिक संस्थामा शोक बिदा दिइने निर्णय गरिएको हो।

विज्ञप्तिमा विश्व पर्वतारोहण क्षेत्रमा नेपाललाई गौरवान्वित बनाएका पुर्जाको योगदानको उच्च सम्मान गर्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

विश्व पर्वतारोहण क्षेत्रमा ‘निम्स दाइ’का रूपमा परिचित निर्मल पुर्जाले ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरेर अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। उनकाे निधनले नेपालको पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताइएको छ।