गृहमन्त्री गुरुङ र ‘हिन्दू सम्राट सेना’बीच जनकपुरमा पुनः वार्ता
Prime TV News ३ घण्टा अगाडि 
जनकपुरधाम । शुक्रबार राति मधेश झरेका गृहमन्त्री सुधन गुरुङले ‘हिन्दू सम्राट सेना’का प्रतिनिधिसँग शनिबार पुनः वार्ता गरेका छन्।
जनकपुरधामस्थित एक होटलमा सरकार र हिन्दू सम्राट सेनाका प्रतिनिधिबीच छलफल भइरहेको छ। सरकारका तर्फबाट गृहमन्त्री गुरुङसहित प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव वार्तामा सहभागी छन्।
त्यस्तै, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, सशस्त्र प्रहरी बलका डीआईजी विष्णु भट्ट, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्कालगायत सुरक्षा तथा प्रशासनिक अधिकारीहरू पनि वार्तामा सहभागी छन्।
हिन्दू सम्राट सेनाको तर्फबाट अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, महासचिव राकेश सनातनीसहित अन्य पदाधिकारी सहभागी भएका छन्। वार्तामा संयुक्त हिन्दू मोर्चाले शुक्रबार राति प्रस्तुत गरेका मागहरूबारे छलफल हुने जनाइएको छ।
यसअघि भएको वार्तापछि रास्वपा सांसद मनीष झाले सहमति भइसकेको दाबी गरेका थिए। तर, हिन्दू सम्राट सेनाले भने सहमति नभएको भन्दै उक्त दाबीको खण्डन गरेको थियो। अघिल्लो वार्तामा देखिएको विवादपछि शनिबारको छलफलमा रास्वपाका नेता तथा कार्यकर्तालाई सहभागी नगराइएको बताइएको छ। वार्ताको निष्कर्षबारे भने औपचारिक जानकारी आउन बाँकी छ।







