नेपाल र जापान ‘सुपर सिक्स’ प्रवेशपछि समूह उपाधिका लागि आमनेसामने
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जापानसँग भिड्दैछ। दुवै टोली ‘सुपर सिक्स’मा स्थान पक्का गरिसकेकाले यो खेल समूह विजेता र उपविजेताको टुंगो लगाउने निर्णायक हुनेछ।
बिहीबार सम्पन्न खेलमा जापानले कुवेतलाई सहज रूपमा पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको थियो। यससँगै नेपाल र जापान दुबै टोलीले सुपर सिक्समा प्रवेश सुनिश्चित गरे भने कुवेत प्रतियोगिताबाट बाहिरिएको छ।
अन्तिम खेलको विजेताले सुपर सिक्स चरणमा अतिरिक्त अंक बटुल्ने भएकाले दुवै टोलीमाथि आज जित्ने दबाब रहनेछ । जापानले बिहीबार कुवेतविरुद्ध १७८ रनको लक्ष्य १९ ओभर ३ बलमै पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। त्यसैले जापानलाई हल्का रूपमा लिनु नेपालका लागि जोखिमपूर्ण हुन सक्छ।
नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै सशक्त सुरुवात गरेको थियो। १४१ रनको योगफल बनाएको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई ८३ रनमै समेटेको थियो।
दुवै टोली उत्कृष्ट फर्ममा रहेका कारण आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। उच्च मनोबलका साथ मैदानमा उत्रने नेपाल समूह विजेताको रूपमा सुपर सिक्स प्रवेश गर्न चाहन्छ, जबकि जापान पनि लगातार जितसँगै आफ्नो प्रभुत्व कायम राख्ने दाउमा छ ।







