‘देश र कांग्रेस जोड्ने अभियान’ले राष्ट्रिय एकता भेला आयोजना गर्ने

User Image Prime TV News ४ घण्टा अगाडि
Image of ‘देश र कांग्रेस जोड्ने अभियान’ले राष्ट्रिय एकता भेला आयोजना गर्ने

काठमाडौ । नेपाली कांग्रेसभित्र एकता कायम गर्ने उद्देश्यसहित ‘देश र कांग्रेस जोड्ने अभियान’ले राष्ट्रिय एकता भेला आयोजना गर्ने भएको छ।

अभियानले आइतबार पत्रकार सम्मेलन गर्दै भेलाबारे जानकारी दिएको हो। अभियानले जारी गरेको विज्ञप्तिमा यो कुनै व्यक्ति, समूह वा गुट विशेषको हितका लागि नभई “एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्प” भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “उक्त भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र अभियानको आगामी कार्ययोजना सार्वजनिक गरिनेछ।”

कांग्रेसभित्र देखिएको विभाजनको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै एकता अभियानलाई अघि बढाइएको हो। पार्टी विभाजन रोक्न दबाब दिने उद्देश्यले कांग्रेस नेताहरू रञ्जित कर्ण, नैनसिंह महर, सुवन गिरी लगायतका नेताहरूले अभियानको नेतृत्व गरिरहेका छन्।

यसैबीच, कांग्रेसको संस्थापनइतर समूहले पनि आगामी २९ साउनमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलाका लागि नेता शशांक कोइरालाको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको जनाइएको छ।

कांग्रेसभित्र बढ्दो आन्तरिक विवाद, गुटगत प्रतिस्पर्धा र पार्टी एकताको विषयलाई लिएर पछिल्ला दिनमा विभिन्न समूहले आ–आफ्नो पहल अघि बढाइरहेका छन् ।