पेट्रोलियम पदार्थको नयाँ मूल्य आउन ढिलाइ, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेपाल आयल निगमले नियमित समय अनुसार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्न सकेको छैन।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्य प्राप्त भए पनि मूल्य समायोजनका लागि निगम सञ्चालक समितिको निर्णय पर्खिएको छ। निगमले सामान्यतया प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दै आएको छ।
आईओसीबाट महिनाको अन्तिम दिन र १५ तारिखमा प्राप्त हुने नयाँ मूल्यका आधारमा निगमले नेपालमा मूल्य समायोजन गर्ने गरेको छ। स्वचालित मूल्य प्रणालीअनुसार निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको मूल्यमा अधिकतम २ रुपैयाँसम्म घटबढ गर्न सक्ने व्यवस्था छ। तर, सोभन्दा बढी मूल्य परिवर्तन गर्नुपर्ने अवस्थामा सञ्चालक समितिको बैठकबाट निर्णय लिनुपर्ने कानुनी प्रावधान छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आईओसीबाट प्राप्त नयाँ मूल्यमा ठूलो परिवर्तन देखिएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय गरेपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिनेछ। निगम स्रोतका अनुसार यसपटक भारतबाट आएको मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण आईओसीको नयाँ मूल्यमा पनि वृद्धि देखिएको स्रोतको भनाइ छ। “अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पनि वृद्धि देखिएको छ,” निगम स्रोतले जनाएको छ।
शनिबार र आइतबारको बिदाका कारण सञ्चालक समितिको बैठक बस्न ढिलाइ भएको बताइएको छ। बैठकले निर्णय गरेपछि मात्र नयाँ मूल्य लागू हुने निगमले जनाएको छ। भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने सम्भावना देखिएको छ। यद्यपि, कति रकमले वृद्धि गर्ने र नयाँ मूल्य कहिलेबाट लागू गर्ने भन्ने विषयमा निगम सञ्चालक समितिको निर्णय आउन बाँकी छ।







