कैलालीमा धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न तीनबुँदे निर्णय
Prime TV News ४ घण्टा अगाडि 
धनगढी । कैलालीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न तीनबुँदे निर्णय गरिएको छ।
तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका धार्मिक द्वन्द्व, आगजनी, तोडफोड तथा बन्द–हड्तालका घटनाबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कैलालीको पहलमा निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीको आह्वानमा बसेको अन्तरधार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले जिल्लाभर धार्मिक र सामाजिक सद्भाव सुदृढ बनाउन स्थानीय तहसँग समन्वय गरी पालिका तथा वडा तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।
बैठकले कुनै एक धार्मिक समुदायको मात्र सहभागिता हुने सभा, जुलुस वा र्याली सकेसम्म आयोजना नगर्न आग्रह गरेको छ। अपरिहार्य अवस्थामा यस्ता कार्यक्रम आयोजना गर्नुपरे स्थानीय प्रशासनलाई पूर्वजानकारी गराई अनुमति लिनुपर्ने निर्णय गरिएको छ। साथै, शान्ति–सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरिएको छ।
यस्तै, कुनै व्यक्ति वा संस्थाले अर्को धार्मिक समुदायको सम्मानमा आँच पुग्ने कार्य गरे तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ। बैठकले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै छिमेकी मुलुकबाट सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने व्यक्तिहरूले आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।
यसैबीच, कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा साउन १८ गते धनगढीमा ‘नागरिक सद्भाव र्याली’ आयोजना गर्ने निर्णय पनि गरिएको छ। आयोजकहरूले उक्त र्यालीमार्फत धार्मिक सहिष्णुता, सामाजिक एकता र शान्तिको सन्देश दिने बताएका छन्।







