कांग्रेस एकताका लागि ३५ निवर्तमान केन्द्रीय सदस्यले पद नलिने नैनसिंह महरको घोषणा
Prime TV News ९ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी एकता कायम गर्न आफूहरू ३५ जना निवर्तमान केन्द्रीय सदस्यले नयाँ कार्यसमितिमा केन्द्रीय सदस्यको जिम्मेवारी नलिने प्रस्ताव अघि सारेका छन्।
आइतबार ‘देश र कांग्रेस जोड्ने अभियान’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महरले १४औँ महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनपछि बनेको कार्यसमितिमा समावेश नभएका १११ जना निवर्तमान केन्द्रीय सदस्यमध्ये ३५ जना पार्टी एकताका लागि पद त्याग गर्न तयार रहेको बताएका हुन्।
कांग्रेसको संस्थापनइतर पक्षले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा १४औँ महाधिवेशनका १११ जना केन्द्रीय सदस्यलाई समेट्नुपर्ने माग गर्दै आएको छ। त्यसै सन्दर्भमा महरले आफूहरू पदभन्दा पार्टी एकतालाई प्राथमिकता दिने पक्षमा रहेको बताए।
“हामी ३५ जना केन्द्रीय सदस्य नबसेर बरु पार्टी एकताको पक्षमा उभिन्छौँ, बाँकीलाई सभापतिजीले मिलाउनुस्,” महरले भने।
उनले कुनै व्यक्ति वा समूहको स्वार्थका कारण कांग्रेस विभाजन हुन नहुने बताए। पार्टी एकताका लागि दबाब सिर्जना गर्न ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरिएको र आगामी साउन २० गते काठमाडौंको सुकेधारामा राष्ट्रिय एकता भेला आयोजना गर्न लागिएको जानकारी दिए।
महरका अनुसार भेलामा देशभरका प्रतिनिधिहरू सहभागी हुनेछन् भने संस्थापन र संस्थापनइतर दुवै पक्षका नेताहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास गरिनेछ। उनले पार्टी एकताका लागि आवश्यक परे अनशन, वडा तथा टोल तहमा हस्ताक्षर अभियानलगायत दबाबमूलक कार्यक्रम सञ्चालन गरिने बताए।
“कसैको स्वार्थले पार्टी फुट्न दिन हुँदैन। हामी सिंगो कांग्रेसको पक्षमा छौँ। अहिले हामीलाई कुनै पद चाहिएको छैन, तर पार्टी मिल्नुपर्छ,” महरले भने।
उनले कांग्रेसका संस्थापन र इतर दुवै पक्षमा एकताको भावना रहेको दाबी गर्दै देशभरका अधिकांश शुभचिन्तक र क्रियाशील सदस्यहरू एकीकृत कांग्रेसको पक्षमा रहेको बताए। ‘देश र कांग्रेस जोड्ने अभियान’ले साउन २० गते राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ।







