कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवादबारे छलफल हुने

User Image Prime TV News एक घण्टा अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवादबारे छलफल हुने

काठमाडौ । नेपाली कांग्रेसले आगामी साउन २४ गते आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनका विषयमा विवाद बढिरहेका बेला बैठक आह्वान गरिएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। बैठकमा आगामी महाधिवेशनको तयारी, संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेला तथा पार्टीभित्र देखिएको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।

संस्थापनइतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरिसकेको छ। उक्त भेलाको संयोजन पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गर्ने जिम्मेवारी पाएका छन्। यता, संस्थापन पक्षले भने आगामी असोज १६ देखि १९ गतेसम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने मिति घोषणा गरेको छ।

केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्ने समयसीमा, विधानमा देखिएका अवरोध हटाउने वा विधानकै व्यवस्थाअनुसार अघि बढ्ने भन्ने विषय तथा पार्टीको आन्तरिक संरचनामा नेताहरूको व्यवस्थापनबारे छलफल हुने नेताहरूले बताएका छन्।

पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको समय, नेतृत्व व्यवस्थापन र विशेष महाधिवेशनबाट बनेको संरचनामा पुराना केन्द्रीय सदस्यहरूको भूमिकालाई लिएर दुई धार देखिएको छ। आगामी बैठकलाई पार्टीभित्रको विवाद समाधान गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।